सप्तरी, २३ माघ । सप्तरीमा देवरले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् ।

आगोमा जलेर गम्भीर घाइते भएकी सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–१ धनगढी बस्ने २७ वर्षीया राजकुमारी साहको उपचारको क्रममा मृत्यु भएको छ ।

देवर परमेश्वर साहले भाउजू राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको जलेर मृत्यु भएको छ ।

शुक्रवार बिहान घरमा रोटी पकाइरहेकी राजकुमारीको शरीरमा २० वर्षीय परमेश्वरले पेट्रोल छर्केर आगो लगाएका थिए ।

महिलाको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता महिलाकी पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जाहेरीका आधारमा महिलाको शरीरमा आगो लगाउनेको खोजी भइरहेको बताए ।