जनकपुरधाम, १९ माघ । धनुषाको जनसंख्या पछिल्लो दश वर्षको अवधिमा १ लाख १७ हजार ९३६ बढेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार धनुषाको जनसंख्या ८ लाख ७२ हजार ७१३ पुगेको हो ।

तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार २०७८ मा धनुषाको जनसंख्या ८ लाख ७२ हजार ७१३ पुगेको छ । यसअघि २०६८ मा धनुषाको जनसंख्या ७ लाख ५४ हजार ७७७ थियो ।

गणक तथा सुपरिवेक्षकहरुले २०७८ मा जिल्लाका १ लाख ४६ हजार ४७० घरमा १ लाख ८० हजार ८२९ परिवारको गणना गरेका छन् ।जनगणनाको तथ्यांक अनुसार धनुषामा ४ लाख ३८ हजार ९०१ पुरुष र ४ लाख ३३ हजार ८१२ महिला छन् । २०६८ मा भने ३ लाख ७८ हजार ५३८ पुरुष र ३ लाख ७६ हजार २३९ महिला थिए ।

जनकपुरधाम उपमहानगरपालिकामा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको छ । यहाँ १ लाख ९५ हजार ४३८ जना बसोबास गर्छन ।त्यस्तै सबैला नगरपालिकामा ६२ हजार ५१०, शहीदनगर नगरपालिकामा ५३ हजार ५४६, धनुषाधाम नगरपालिकामा ५३ हजार ३५, क्षिरेश्वरनाथ नगरपालिकामा ५३ हजार ३१, मिथिला नगरपालिकामा ४७ हजार ४०८, कमला नगरपालिकामा ४५ हजार ४७७, हंसपुर नगरपालिकामा ४४ हजार ९२९, गणेशमान चारनाथ नगरपालिकामा ४४ हजार ९ सय, मिथिला विहारी नगरपालिकामा ३८ हजार ८, नगराइन नगरपालिकामा ३७ हजार ९४९ र विदेह नगरपालिकामा ३७ हजार ८८१ जनसंख्या रहेको छ ।

लक्ष्मीनिया गाउँपालिकामा भने ३३ हजार २१२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा २९ हजार ३५१, जनकन्दिनी गाउँपालिकामा २८ हजार २६७, औरही गाउँपालिकामा २४ हजार ३३८, धनौजी गाउँपालिकामा २१ हजार ९६० र बटेश्वर गाउँपालिकाको जनसंख्या २१ हजार ४७३ रहेको छ ।