केन्द्र सरकारको रेल र प्रदेश सरकारको बसमा उस्तै झेल

जनकपुरधाम, १७ माघ । महत्वकांक्षी योजना सार्वजनिक गर्ने र कार्यान्वयनमा फितलो हुने मधेस प्रदेश सरकारको नियमित रोग जस्तै बनिसकेको छ । यसकै निरन्तरता स्वरुप केन्द्र सरकारको रेल र प्रदेश सरकारको बसमा उस्तै झमेला देखिएको छ ।
मधेस प्रदेश सरकारले २०७७ फागुन १ गते पत्रकार सम्मेलनको आयोजना गरी फागुन महिनाभित्रै प्रदेश परिवहन सेवा सञ्चालनमा ल्याउने घोषणा गरे पनि बसहरू करिव डेढ वर्षदेखि थन्क्याएर राखिएको छ ।
जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । ५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसके पनि बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।
तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मा उठाउने एउटा सञ्चालक समिति गठन गरिने बताएका थिए । सञ्चालक समितिले नै बसको चालक, सहचालक नियुक्ति गर्ने सोनलले जानकारी दिएका थिए । प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने उनको दाबी थियो ।
जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म सो परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयको योजना थियो । तर, खरिद गरिएका ती बसहरू डेढ वर्ष बितिसक्दा समेत अझै सञ्चालनमा आउन सकेका छैनन् । अहिले ती बसहरू मधेस भवनको परिसरमै रहेको खेल मैदानमा थन्किएका छन् ।

लामो समयसम्म थन्क्याएका कारण बसका विभिन्न पार्टपूर्जामा खिया लाग्न थालेको छ भने इन्जिनदेखि विभिन्न पार्टपूर्जा बिग्रिने जोखिम समेत बढेको छ ।
यस सम्बन्धमा नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश परिवहन सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै सो बसहरूको व्यवस्थापन गर्ने तयारी थालिएको बताए ।
यादवले भने, ‘प्रदेश परिवहनबारे हामी सोच्दै छौँ, बसहरूलाई अन्य कामका लागि विभिन्न संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि हामी छलफल गर्दैछौँ । ती बसहरू हतार–हतारमा खरिद गरिएको देखिन्छ’, उनले भने, ‘बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैंले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’
आफूहरुले यसबारे छलफल गरेर सरकारकै विभिन्न निकाय वा अन्य कुनै परोपकारी संस्थालाई वितरण गर्ने योजना बनाइएको बताए ।
५० सीट क्षमता भएको सो बसहरुमा सीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइको सुविधा समेत रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


