जनकपुरधाम, १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

निर्वाचनको मतपरिणाम अनुसार पाँच दलिय गठबन्धनका उम्मेदवार अर्याल विजयी भएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी अर्याल महिला समूहबाट विजयी भएकी छन् ।

महिला समूहबाट विजयी भएकी अर्यालले ६ हजार १५६ मतभार ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले २ हजार ७५४ मतभार ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालीकी उम्मेदवार विना देवीको ३०६ मतभार आएको छ ।

महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ गरी कूल १९ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।

विनालाई पनि मत

उम्मेदवारी फिर्ता लिएकी विना देवीलाई पनि मत परेको छ ।

नेकपा एमालेबाट उम्मेदवारी दिएकी विनाले लोसपासँग गठबन्धन हुँदा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

उनलाई ३ जना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका छन् । यस हिसाबले उनको कूल मतभार ३०६ रहेको छ ।