जनकपुरधाम, १२ माघ । जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा बुधबार ७ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।तोडफोडमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २–०३–०१ झ ००२०, प्रदेश २–०१ झ–००८० र ना १ झ १६७४ नम्बरको गाडीसहित ७ वटा गाडीमा उनीहरुले तोडफोड गरेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको उनले बताए ।

पक्राउ पर्नेहरुमा धनुषाको औरही गाउँपालिका–५ बस्ने ३० वर्षीय बिमलेश मण्डल, सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने २८ वर्षीय पप्पु पंजियार, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ३१ वर्षीय सुशील कुमार मण्डल, सिरहाको सुखिपुर नगरपालिका–४ बस्ने २२ वर्षीय जिवछ यादव, सप्तरीको बोदेबर्साइन नगरपालिका–१ बस्ने १८ वर्षीय अर्जुन साह, महोत्तरीको एकडारा गाउँपालिका–४ बस्ने ३५ वर्षीय राम विदेही पासवान र सर्लाहीको कविलासी नगरपालिका–२ बस्ने ३० वर्षीय सुवेध मण्डल रहेका छन् ।

सरकारी गाडी तोडफोडमा संलग्न रहेको भन्दै पक्राउ परेका जनमतका ७ जना कार्यकर्तामाथि मुद्दा चलाइने एसपी रजौरेले बताए । राष्ट्रिय सभा निर्वाचन बिथोल्ने उद्देश्यले गरिएको प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले ७ वटा सरकारी गाडीहरुमा तोडफोड गरेर क्षति पु¥याएको उनले बताए । झडपका क्रममा जनमतका ८ कार्यकर्ता र ४ जना सुरक्षाकर्मी समेत घाइते भएको एसपी रजौरेले जानकारी दिए ।

जनकपुरधामको पिडारी चोकमा जनमतका कार्यकर्ताले लाठी र ढुङ्गामुढा प्रहार गर्दा जनता समाजवादी पार्टीका प्रदेश सभासदस्य अशोक यादव सवार गाडी क्षतिग्रस्त बनेको छ । जनमतका कार्यकर्ताले गरेको लाठी प्रहारबाट प्रदेशसभा सदस्य यादवको हात समेत भाँचिएको छ । राउतका कार्यकर्ताले गरेको प्रहारबाट सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद साह र उममेयर रेणुका पौडेल पनि घाइते भएका छन् ।

जनमतका कार्यकर्ताले चिकित्सकमाथि समेत आक्रमण गरेका छन् । बर्दिबास जाँदैगर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ । प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदैगर्दा उनकोे गाडीमाथि आक्रमण गरिएको थियो ।

जनमतका कार्यकर्ताले जनप्रतिधिहरुको गाडीमा तोडफोड गरेपछि प्रहरीको स्कर्टिङ्गमा उनीहरु मतदान स्थल पुगेका थिए ।
उग्र प्रदर्शनका कारण मतदाताहरूलाई जनकपुरधामस्थित मतदानस्थलमा लैजान प्रहरी तैनाथ गरिएको थियो ।