जनकपुरधाम, ९ माघ । पछिल्लो ६ महिनाको अवधिमा मधेस प्रदेशमा लागुऔषधसहित ६०५ जना पक्राउ परेका छन् ।

प्रदेशको आठवटै जिल्लाबाट ६०५ जनालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

मधेस प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले चालु आर्थिक वर्षको ६ महिनामा ५९४ पुरुष र ११ महिलासहित ६०५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

यस अवधिमा गाँजा १ हजार ७१९ किलो, ब्राउनसुगर १३४ ग्राम, चरेस ४६ किलो, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७२८ पिस र इन्जेक्सन २२ हजार ४४६ पिस बरामद भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै,६ महिनाको अवधिमा करोडौँ मूल्य बराबरको भन्सार छलि गरेर नेपाल ल्याइएका सामान समेत प्रहरीले बरामद गरेको छ । गत साउनदेखि पुससम्ममा प्रहरीले १८ करोड ८ लाख ५१ हजार १५६ रुपैयाँ बराबरको सामग्री बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रहरीले किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामान, सुन र चाँदी बरामद गरेको र त्यस्ता कार्यमा संलग्न १०४ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।