युवा संघद्वारा जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

जनकपुरधाम, ९ माघ । नेकपा एमालेको भातृसंगठन यूवा संघ नेपालका नेता कार्यकर्ताहरुले जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार विकासमन्त्री रेणु यादवको पुतला दहन गरेका छन् ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाई गरेको र हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार विकासमन्त्री मन्त्री रेणु यादवलाई बर्खास्त गर्न नचाहेको भन्दै यूवा संघले पुतला दहन गरेको हो ।

स्थानीय रेल्वे स्टेशनबाट निकालिएको विरोध र्यालीमा सहभागी युवाहरूले नरसंहारवादी मुर्दावाद, रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर, हत्यारा सरकार चाहिँदैन, मापसे सरकार मुर्दावाद, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर, अपराधी देउवा सरकार मुर्दावाद जस्ता नारासमेत लगाएका थिए ।
प्रदर्शनमा सहभागी युवा संघका मधेस प्रदेश अध्यक्ष जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले सरकारले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।

कानुनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा बिर्सिँदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरे कडा आन्दोलनमा जाने उनले चेतावनी समेत दिएका छन् ।
माघ ५ गते बलिदानी दिवसका दिन रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् ।

उनको सो अभिव्यक्तिका कारण अहिले सर्वत्र आलोचना भइरहेको छ । उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


