जनगणनामा गम्भीर त्रुटी भएको भन्दै तथ्यांक विभागलाई ज्ञापन पत्र बुझाइयो

जनकपुरधाम, १४ मंसिर । भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटी भएको भन्दै मैथिली साहित्यकार सभाको अगुवाइमा तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापन पत्र बुझाइएको छ ।
२०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सम्पन्न भएको जनगणनामा व्यापक त्रुटि भएकोले त्यसलाई सच्याउनुपर्ने माग गर्दै मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अनुवाईमा जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुद्वारा तथ्यांक कार्यालय प्रदेश २ का प्रमुख विमलकुमार यादवलाई ज्ञापन पत्र बुझाइएको छ ।
‘सप्तरी जिल्लास्थित हनुमाननगरको घटना ज्वलन्त उदाहरण हो जहाँ गम्भीर त्रुटि गरिएको कारण जनगणनाका सुपरिवेक्षकलाई बर्खास्त गरिएको थियो । यस्ता गडबडी सप्तरी, सिरहा, धनुषा, महोत्तरीसहित धेरैजसो जिल्लामा पाइएका छन् । सुपरिवेक्षक र गणकहरुले सबैका घरमा तथ्याङ संकलन गर्न नगएको, पेनको सट्टा सीसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसंग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर गडबडी विभिन्न जिल्ला र पालिकाहरुमा देखिएका छन्,’विज्ञप्तीमा उल्लेख छ ।
खासगरी मैथिलीभाषी जिल्ला झापादेखि रौतहटसम्मको क्षेत्रमा पूर्वाग्रह राखी जातिवादको राजनीति गर्ने राजनीतिक व्यक्ति, केही जातिवादी संघ–संस्था, कबीरपन्थी संस्था तथा कथित मगही र बज्जिका अभियन्ताहरुको निर्देशनमा मैथिलीभाषीको संख्या घटाउन मैथिली भाषालाई नै मगही र बज्जिका भनी फारममा उल्लेख गरिएको मिथ्याङ तथ्याङ कार्यालयमा पठाइएको विभिन्न घटना र प्रमाणबाट प्रमाणित भईसकेको विज्ञप्तीमा दावी गरिएको छ ।
मैथिली भाषाभाषी जिल्लाहरुबाट पठाइएको जनगणनासम्बन्धी तथ्याङको छानबीन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकहरुमाथि कारवाही गर्नसमेत माग गरिएको छ । साथै गडबड भएका क्षेत्रहरुमा पुनः अर्को जनगणना टोली खटाउन विज्ञप्तीमार्फत अनुरोधसमेत गरिएको छ ।


