जनकपुरधाम, ७ मंसिर । जनकपुरधामस्थित जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटल प्रालिले ल्याप्रोस्कोपी प्रविधिबाट बिना चिरफार पाठेघरको शल्यक्रिया सुरु गरेको छ ।

जनकपुरधाममै पहिलो पटक जानकी हेल्थ केयरले यो प्रविधिबाट सेवा सुचारु गरेको हो ।

प्रदेश २ मा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सञ्चालन गर्दै आएको ल्याप्रोस्कोपी प्रविधि अब जानकी हेल्थ केयरले सोमवारदेखि सञ्चालनमा ल्याएको छ ।

पहिलो दिनमै एक महिलाको पाठेघरको शल्यक्रिया गरी सफल उपचार गर्न सफल भएको अस्पतालले दाबी गरेको छ ।

‘चिकित्सा क्षेत्रमा नेपालका लागि यो नयाँ प्रविधि हो,’ अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विरेन्द्र भगतले भने,’यो प्रविधि ल्याप्रोटोमी प्रविधिभन्दा कम झन्झटिलो, कम खर्चिलो र सुरक्षित छ ।’

ल्याप्रोटोमी प्रविधिले चिरफार गरेर अपरेशन गर्दा ७/८ दिनसम्म अस्पताल र महिनौं दिनसम्म घरमा बस्ने, महिनौंसम्म औषधि खाने जस्ता समस्या हुन्छ । तर यो प्रविधिले ती समस्याहरु बिरामीलाई झेल्नु पर्दैन,उनले भने ।’

यस प्रविधिमा पेटमा मात्र ३/४ ठाउँमा प्वाल पारेर दूरबीनयुक्त क्यामेरा र मोनिटर सहितको मेसिनले अपरेशन गर्दा बिरामी दुई भित्रै डिस्चार्ज हुने र बढी औषधि पनि खानु नपर्ने उनले बताए ।

पछिल्लो केही समयदेखि नेपालमा प्रभावकारी बन्दै गएको ल्याप्रोस्कोपी प्रविधि शल्यक्रिया विश्वस्तरमै पाठेघर लगायतका पेट तथा योनी भित्रका क्यान्सर, मासु बढेको लगायतका रोगका लागि कम खर्चिलो, सहज र विश्वसनीय मानिएको दाबी समेत डा. भगतले गरेका छन् ।