जनकपुरधाम, ११ कार्तिक । धनुषाका १८ मध्ये १६ पालिकामा नेकपा एमालेको अधिवेशन अझै बाँकी रहेको छ ।

वडाहरुमा विवाद देखिएपछि वडा अधिवेशन पनि सम्पन्न हुन सकेको छैन । वडा अधिवेशन हुन नसक्दा नगर अधिवेशनसमेत अन्योलमा परेको छ ।

धनुषा जिल्लाका ३९ वडामा वडा अधिवेशन अझै बाँकी रहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनले धनुषामा कुल १६९ वडा रहेकोमा १३० वटामा वडा अधिवेशन सम्पन्न भइसकेको बताए । बाँकी रहेको वडा र पालिकामा अधिवेशन छिट्टै सकिने उनको दावी छ ।

अधिकांश पालिकाको केही वडामा कार्यकर्ताबीच आपसी विवाद रहेकोले समयमै वडा अधिवेशन हुन नसकेको उनले बताए । केही वडामा अधिवेशन हुन बाँकी रहेको र केही वडामा पार्टीले नै अधिवेशन गराउन नसकेको उनले जानकारी दिए ।

मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मात्र नेकपा एमालेले अधिवेशन सम्पन्न गरिसकेको छ । मिथिला नगरपालिकामा दीपक थापाको अध्यक्षतामा ७५ सदस्यीय र बटेश्वर गाउँपालिकामा रामखेलावन महतोको अध्यक्षतामा ६५ सदस्यीय नेतृत्व चयन गरिएको हो ।