जनकपुरधाम, ४ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी कालोमोसो दलेर नगर परिक्रमा गराएका छन् ।

लगातारको दुई दिनको अविरल बर्षाका कारण जनकपुरधाम जलमग्न भएकोले यहाँ ढल निर्माणमा व्यापक अनियमितता भएको भन्दै उनीहरुले निमित्त प्रमुख कुशवाहालाई कुटपीट गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले कुशवाहालाई रामानन्द चोकस्थित कार्यालयबाट जर्बजस्ताी बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका छन् । उनीहरुले कुशवाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो उनको शरीरभरि दलेर कुटपीट गर्दै नगरभरि घुमाएका थिए ।

जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका मेयरलाई कालोमोसो दलेर नगर परिक्रमा गराउने योजना बनाएका थिए । तर, नगरप्रमुख भागेपछि खानेपानी कार्यालयका प्रमुखलाई उनीहरुले कालोमोसो दल्दै नगर परिक्रमा गराएका हुन् ।

जनमत पार्टीको भातृ संगठन प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले उनीमाथि जनकारवाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनले बताए ।

भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारवाही गरिने बताए । जनमत पार्टीले त्यस्ता भ्रष्टाचारीलाई जहाँ पायो त्यहीं समातेर नगरपालिकाको ढल, बाढी, हिलो र कटानमा हिँड्न लगाइने समेत उनले बताए ।

यता यस घटनामा संलग्न रहेको भन्दै जनमत पार्टीका १० जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।