बाढी पहिरोमा परी अहिलेसम्म ३१ को मृत्यु, ३३ जना बेपत्ता

काठमाडौं, ३ कार्तिक । केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर देशभर ३१ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परेर २२ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको गृह मन्त्रालयको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।
आज बिहानसम्मको विवरणअनुसार इलाममा ७ जना, डोटीमा ७ जना, धनकुटा र पाँचथरमा ६–६ जना, सुनसरीमा २ जना, कालीकोटमा १ जना र डडेल्धुरामा १ जना गरी अहिलेसम्म ३१ जनाको मृत्यु भएको पाण्डेले बताइन् ।
पहिरोमा परेर बझाङमा २३ जना, हुम्लामा ६ जना, कैलालीमा ४ जना गरेर ३३ जना बेपत्ता भएका हुन् । देशभरका १९ जिल्लामा बाढी पहिरोले प्रभाव पारेको छ ।
आज पनि देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहररूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।