छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । लमजुङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ हाइस्कुल डाँडास्थित सडकमा ग.१ त ५५६५ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक दोर्दी गाउँपालिका–४ शेरा बस्ने २१ वर्षीय मन बहादुर गुरुङ रहेका छन् । ट्याक्टरमा फलाम लैजाने क्रममा ओरालोमा फलाम अगाडि जाँदा फलाममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जालपा पेट्रोल पम्पस्थित सडकमा को.४ प ६८९३ नम्बरको मोटरसाइकल प्रदेश–१ ०२–००३ ह ३०७८ नम्बरको सिटि सफारीमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी नगरपालिका–१ बस्ने २२ वर्षीय मुकेश सरदार छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।