निरन्तरको बर्षाले अस्तव्यस्त जनकपुरधाम

जनकपुरधाम । हिजो रातिदेखिको निरन्तरको वर्षाले जनकपुरधाम उपनगरपालिका जलमग्न बनेको छ ।
सोमबार मध्य रातिदेखि निरन्तर मंगलबार दिउँसोसम्म निरन्तर बर्षा हुँदा जनकपुरधामका २५ वटै वडा जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भएको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नहुँदा पानीको निकास हुन नसकेकोले नगरक्षेत्र जलमग्न भएका हुन् ।
वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, प्रादेशिक अस्पताल, जनकपुरको प्रमुखचौक रामानन्दद्वार (चौक), मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएका छन् भने नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ ।
लगातारको भारी बर्षाका कारण जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरलीचोकदेखि विश्वकर्मा चोक, कदमचोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलमग्न भएका छन् ।
मिथिलाको प्राचिन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । लगातारको मुसलधारे बर्षाका कारण सडकहरु जलमग्न बनेका छन् भने अधिकांश घरमा समेत बर्षाको पानी प्रवेश गरेको छ ।