धनगढी । दशैँको टीका लगाउन आफन्तको घरमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलस्थित देउवाको घरमा शुक्रबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए । उनले ४ हजार नगदसहित करीब ३ तोला सुन र ३ तोला चाँदी चोरी भएको बताए ।

घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।