नेपाली राष्ट्रिय फुटबल टिमलाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी १३ औं साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई तथा शुभकामना दिएकी छन् ।
उनले बिहीबार सामाजिक सञ्जाल ट्वीटर मार्फत राष्ट्रिय फुटबल टिमलाई बधाई दिएकी हुन् ।
‘साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु,’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपालको भेट भारतसँग हुँदैछ । खेल माल्दिभ्सको राजधानी मालेमा शनिबार हुँदैछ ।