जनकपुरधाम । विजयादशमीको नवौं दिन आज महानवमी पर्व मनाइँदै छ । आज नवदुर्गाको नौ रुपमध्ये सिद्धिदात्री माताको पूजाआराधना गरिँदै छ ।

महानवमीको दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । आज दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।

दशैंघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा र दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ ।