जनकपुरधाम, १९ कार्तिक । जनकपुरधामका होटल, मिठाई पसल तथा डेरी उद्योगमा गरिएको अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर र स्वच्छतामा लापरबाही गरेको पाइएको छ ।

अनुगमन टोलीले रसभरीमा स्टार्च मिसाइएको पाइएपछि विभिन्न तीन मिठाई पसलबाट २७ किलो रसभरी नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले प्रयोगशालासहितको मोबाइल भ्यान परिचालन गरी बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मोबाइल भ्यानमार्फत खाद्यवस्तुको नमुना तत्काल परीक्षण गर्दा विभिन्न पसलमा बिक्रीका लागि राखिएको रसभरीमा स्टार्चको उपस्थिति पुष्टि भएको थियो ।

जनकपुरधाम–८ स्थित गुडु नास्ता पसलबाट २ किलो ५०० ग्राम, श्रीराम लस्सी एण्ड स्वीट्स कर्नरबाट १८ किलो र लड्डु गोपाल स्वीट्सबाट एक किलो रसभरी नष्ट गरिएको छ । त्यस्तै, जानकी डेरी उद्योगबाट समेत ६ किलो रसभरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य निरीक्षण अधिकृत प्रविणकुमार तिवारीले जानकारी दिए ।

लड्डु गोपाल स्वीट्सको उत्पादनस्थल फोहोर पाइएपछि तत्काल उत्पादन कार्य रोक्न निर्देशन दिइएको छ । यसैगरी, चन्दे दूध दही लस्सी पसलमा दूधमा सोडा मिसाइएको पाइएपछि २० लिटरभन्दा बढी दूध नष्ट गरिएको छ । उक्त पसललाई उत्पादनस्थलको सरसफाइमा ध्यान दिनुका साथै उत्पादित खाद्यवस्तुमा अनिवार्य लेबल राख्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा अन्य होटल तथा मिठाई पसलमा पनि खाद्य स्वच्छतासम्बन्धी विभिन्न कमजोरी भेटिएका छन् । मोहन महाराज जी वैष्णव होटलमा तयारी खाद्यवस्तु खुला रूपमा बिक्री भइरहेको र लेबल नराखिएको पाइएपछि दुई दिनभित्र सोकेसमा लेबल राख्न तथा खुला खाद्यवस्तु सुरक्षित रूपमा सोकेसमा राखेर मात्रै बिक्री गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, कृष्ण स्वीट्स एण्ड डेरी उद्योग र गुडु नास्ता पसललाई पनि तयारी खाद्यवस्तु खुला रूपमा बिक्री नगर्न तथा दुई दिनभित्र सोकेसमा लेबल राख्न भनिएको छ ।

शिवमूर्ति होटललाई पटकपटक तेल तताएर प्रयोग नगर्न, ओम बेकरी एण्ड स्वीट्सलाई उत्पादनस्थलको सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । होटल जानकी भ्युमा रसभरीको स्टार्च परीक्षण नेगेटिभ आए पनि सोकेसमा अनिवार्य रूपमा लेबल राख्न भनिएको छ ।

यसैगरी, गोपाल चिया लस्सी पसल र रघुपति मिष्ठान भण्डारलाई उत्पादनस्थलको सरसफाइमा सुधार गर्न तथा उत्पादित खाद्यवस्तुमा लेबल राख्न निर्देशन दिइएको छ । जय श्रीराम जानकी डेरी उद्योगलाई पनि खाद्यवस्तुमा लेबल राख्न भनिएको छ भने लक्ष्मी मिष्ठान भण्डारलाई सरसफाइका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै खाद्य पदार्थ बिक्रीवितरण गर्न निर्देशन दिइएको छ । हंसराज मिठाई पसलको उत्पादनस्थलको अवस्था भने सन्तोषजनक पाइएको खाद्य निरीक्षण अधिकृत तिवारीले बताए ।

अनुगमनका क्रममा अधिकांश पसलमा खाद्यवस्तु खुला रूपमा बिक्री गर्ने, उत्पादनस्थलमा सरसफाइ कायम नगर्ने तथा खाद्य सामग्रीमा आवश्यक लेबल नराख्ने जस्ता समस्या देखिएका छन् ।

विभागले काठमाडौंस्थित कार्यालयबाट प्रयोगशालासहितको मोबाइल भ्यान ल्याएर अनुगमनस्थलमै खाद्यवस्तुको परीक्षण गरेको थियो । यस प्रविधिबाट नमुना परीक्षणका लागि प्रयोगशालासम्म पुर्याउनुपर्ने झन्झट हट्नुका साथै तत्कालै गुणस्तर परीक्षण गरी आवश्यक निर्णय लिन सहज भएको विभागको भनाइ छ ।

अनुगमन टोलीमा विभाग काठमाडौंका ईश्वर सुवेदी र सुसन निरौला तथा जनकपुरधाम कार्यालयका रमेश दाहाल, प्रविणकुमार तिवारी र शिव श्रेष्ठलगायत सहभागी थिए । अनुगमनमा सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।