रुखबाट लडेर ६४ वर्षीय वृद्धको मृत्यु
बारा, १८ कार्तिक । बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब ८ बजेर १० मिनेटमा आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा थिङ अचानक लडेका थिए । रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो ।
अस्पतालमा चिकित्सकले बिहान ८ बजेर ४९ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा प्रहरी टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले बिहान ९ बजेर ३७ मिनेटमा घटनास्थल मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





