गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर
रौतहट, १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् ।
गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादवमाथि मंगलबार राति अज्ञात व्यक्तिले पाँच राउन्ड गोली प्रहार गरेका हुन् ।
स्थानीयका अनुसार राति करिब ९ बजेर १५ मिनेटमा गढवा गाउँस्थित पानी ट्यांकी नजिक रहेका यादवलाई लक्षित गरी गोली चलाइएको थियो ।
अचानक गोली चलेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो । घटनामा गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घाइते यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकले गरेको सिटी स्क्यान परीक्षणका क्रममा उनको पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको पुष्टि भएको प्रहरीले जनाएको छ । शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउ देखिएका छन् ।
घाइतेको अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको डीएसपी गौतमले जानकारी दिए ।
युवकमाथि गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
गोली प्रहारको कारण तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरीले सम्भावित स्थानमा खोजी र अनुसन्धान तीव्र पारेको जनाएको छ ।
सदरमुकाम गौरकै बस्तीमा भएको गोलीकाण्डले स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





