जनकपुरधाम, १८ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा बोल्दै उनले बालविवाह सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि समुदायस्तरबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले बालविवाहविरुद्ध सडक नाटकसहित विभिन्न माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए । बालविवाह रोक्न अभिभावक, समुदाय र स्थानीय तह सबै जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी मधेश प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारी निकाय, नागरिक समाज र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताइन् ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सातवटा बालविवाह रोक्न सफल भएको जानकारी दिए । उनले बालविवाहमुक्त समाज निर्माणका लागि आगामी दिनमा पनि सचेतनामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबीचको सहकार्यबाट मात्रै बालविवाहमुक्त समाज निर्माण सम्भव हुने धारणा राखिन् ।

कार्यक्रममा प्रस्तुत गरिएको सडक नाटकमार्फत बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था तथा भविष्यमा पर्ने नकारात्मक असरबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

बालविवाहविरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने तथा यसको रोकथामका लागि सामूहिक पहल अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।