वडादशैँ भव्य बनाउन महावीर युवा कमिटीको तयारी तीव्र, १२ उपसमिति गठन
जनकपुरधाम, २८ भदौ । श्री महावीर युवा कमिटीले आगामी वडादशैँ–२०८३ लाई सभ्य, भव्य तथा धुमधामका साथ मनाउन विभिन्न १२ वटा उपसमिति गठन गरेको छ ।
कमिटीको ६०औँ साधारणसभाबाट वडादशैँका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन उपसमितिहरू गठन गरिएको हो ।
साधारणसभाले पूजा व्यवस्थापनदेखि सुरक्षा, सरसफाइ, मेला तथा भजनसन्ध्यासम्मका गतिविधिका लागि छुट्टाछुट्टै संयोजक तोकेको छ ।
गठित उपसमितिअन्तर्गत मूल पूजा संयोजकमा दीपक कुमार साह, ठेहा संयोजकमा बिकेश पञ्जियार, प्रसाद तथा महाप्रसाद संयोजकमा सोनु कुमार साह र रावण वध संयोजकमा आनन्द कुमार साहलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सुरक्षा समिति संयोजकमा कुन्दन साह, भव्य शृंगार संयोजकमा विकास राई, रमाइलो मेला संयोजकमा रोशन साह, भजनसन्ध्या संयोजकमा बिक्रम साह, गहवर व्यवस्थापन संयोजकमा सुरेन्द्र साह, लाइन व्यवस्थापन संयोजकमा शशि साह, खोइच व्यवस्थापन संयोजकमा किशन साह तथा सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।
कमिटीका महासचिव भरत कुमार साहले वडादशैँलाई धार्मिक आस्था, परम्परा र सांस्कृतिक मौलिकता कायम राख्दै व्यवस्थित एवं मर्यादित रूपमा सम्पन्न गर्न उपसमितिहरू गठन गरिएको बताए ।
उनका अनुसार विगतका अनुभवलाई समेत आधार बनाएर यस वर्ष भक्तजन तथा श्रद्धालुलाई सहज रूपमा पूजा आराधना गर्ने वातावरण निर्माण गर्ने, भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने र सुरक्षा तथा सरसफाइमा विशेष ध्यान दिने तयारी गरिएको छ ।
महासचिव साहले भने, ‘वडादशैँलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नु हाम्रो साझा जिम्मेवारी हो । सबै उपसमितिले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास लिएका छौँ । भक्तजनको सुविधा र धार्मिक वातावरणलाई प्राथमिकतामा राखेर यस वर्षको वडादशैँलाई थप आकर्षक बनाउने तयारी भइरहेको छ ।’
कमिटीले नवगठित सम्पूर्ण उपसमितिका संयोजकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वडादशैँको तयारीमा सक्रियतापूर्वक जुट्न आग्रह गरेको छ ।












