जनकपुरधाम, २७ भदौ । बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन रञ्जनले समावेशी तथा आरक्षणको व्यवस्थाका कारण सीमान्तकृत र दलित समुदायका मानिसले विभिन्न क्षेत्रमा अवसर प्राप्त गरेको बताएका छन् ।

जनकपुरधाममा ९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जनले समावेशी व्यवस्थाबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै थप अधिकारका लागि निरन्तर सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिए ।

मधेसी तथा विभिन्न सीमान्तकृत जातजातिमाथि अझै पनि विभेद र हेपाहा प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले राज्यका सबै संरचनामा समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

रञ्जनले हालको भन्दा अझ बलियो र अधिकारसम्पन्न सङ्घीयता आवश्यक रहेको धारणा राख्दै सङ्घीय संरचनालाई प्रभावकारी बनाउन राजनीतिक तथा सामाजिक रूपमा निरन्तर दबाब सिर्जना गर्नुपर्ने बताए ।

जनकपुरधाममा आयोजित कार्यक्रममा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू उपेन्द्र यादव, डा. सीके राउत, प्रभु साह, जनार्दन शर्मा र रेशम चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

मोर्चाले मधेश प्रदेशमा सङ्गठन विस्तार, कार्यकर्ता परिचालन तथा आफ्ना राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्याउने उद्देश्यले क्षेत्रीयस्तरमा भेला तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।