जनकपुरधाम, २६ भदौ । धनुषामा लामो समयदेखि जग्गाधनी पुर्जाविहीन अवस्थामा रहेका परिवारलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै भदौ महिनामै जिल्लाका थप तीन स्थानीय तहका १ हजार ८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिने भएको हो ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारका अनुसार सबैला नगरपालिका, हंसपुर नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाका विभिन्न वडामा पुर्जा वितरणको तयारी गरिएको छ ।

कार्यालयका अनुसार भदौ २७ गते सबैला नगरपालिका–८ साविक ठिला यदुवा गाविसका ३ सय ६० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिनेछ ।

त्यस्तै, भदौ २९ गते हंसपुर नगरपालिका–५ साविक सुगा निकास गाविसका ३ सय ५० परिवार र भदौ ३१ गते क्षिरेश्वरनाथ नगरपालिका–१ र २, साविक रमदैया भवाडी गाविसका ३ सय ७५ परिवारलाई पुर्जा वितरण गर्ने तयारी छ ।

प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भएका तर दर्ता प्रक्रिया पूरा हुन बाँकी रहेका गाउँ ब्लक तथा स्ववासी जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताए ।

उनका अनुसार नाप नक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्णरूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

स्थानीयको सहभागिता, आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा गराउँदै लामो समयदेखि बाँकी रहेका जग्गा दर्ताका विषय क्रमशः टुंग्याउने गरी काम भइरहेको उनले बताए ।

प्रमुख उमेश कुमारले पुर्जा वितरणसँगै लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोगिरहेका परिवारलाई आफ्नो सम्पत्तिको कानुनी अधिकार सुनिश्चित हुने बताए ।

उनका अनुसार पुर्जा प्राप्त भएपछि जग्गा बिक्री–वितरण, धितो राखेर कारोबार गर्न तथा अन्य प्रशासनिक काम गर्नसमेत स्थानीयलाई सहज हुनेछ ।

यसअघि पनि नाप नक्सा सम्पन्न भएका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको दर्ता प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

धनुषाका अन्य क्षेत्रमा समेत नाप नक्सा सम्पन्न भइसकेका तर विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन बाँकी जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने नापी कार्यालयले जनाएको छ ।

भदौ महिनामा मात्रै तीन स्थानीय तहका १ हजार ८५ परिवारलाई पुर्जा वितरण गर्ने तयारीले लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ ।