शौचालयको सेफ्टी ट्यांकीमा युवकको शव, हत्या आरोपमा बाबुछोरा पक्राउ
जनकपुरधाम, २६ भदौ । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा शौचालयको सेफ्टी ट्यांकीभित्र एक युवकको शव फेला परेको छ ।
मृतक भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सरदारलाई हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाइएको अवस्थामा भेटिएको हो ।
शव राखेपछि ट्यांकीमाथिबाट सिमेन्ट र बालुवा प्रयोग गरी प्लास्टरसमेत गरिएको पाइएको छ ।
रक्षाबन्धनको दिनदेखि सम्पर्कविहीन भएका सरदारको परिवारले खोजी गरिरहेको थियो । खोजीका क्रममा उनको अन्तिम मोबाइल लोकेसन घटनास्थल आसपास देखिएको र अन्तिम फोन कल पनि घटनास्थलका बासिन्दासँग सम्बन्धित नम्बरमा भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले बनौटाका घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएको बताएपछि प्रहरीले घटनास्थलमा पुगेर शव बरामद गरेको जनाइएको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका दिपेन्द्र केही दिनअघि मात्रै घर फर्किएका थिए ।
मृतक विवेक र दिपेन्द्रकी श्रीमतीबीच चिनजान तथा निकटता रहेको र सोही विषयलाई लिएर विवेकलाई फोनमार्फत घरमा बोलाई हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


