सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको घटनाको विरोधमा जनकपुरधाममा पनि प्रदर्शन गरिएको छ ।
सोमबार साँझ हिन्दू सम्राट सेनाको अगुवाइमा रामानन्द चौक र भानुचौकमा प्रदर्शन गर्दै केही समय सडक अवरुद्ध गरिएको थियो ।
प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै विभिन्न नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र उनका सल्लाहकार असीम शाहको तस्बिरसमेत जलाइएको थियो ।
प्रदर्शनकारीहरूले असीम शाहलाई प्रधानमन्त्रीको सल्लाहकार तथा संविधान संशोधन संयोजक पदबाट हटाउनुपर्ने माग राख्दै विरोध जनाएका हुन् ।

सुनसरी घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनकारीहरूले ‘मुस्लिम आयोग खारेज गर’,‘हिन्दू राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनका कारण केहीबेर रामानन्द चौक र भानुचौकको सवारी आवागमन प्रभावित भएको थियो भने सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।
सुनसरी घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाइरहेको छ ।

