जलवायुमैत्री खेतीमार्फत धानमा आत्मनिर्भर बन्नुपर्नेमा जोड

महोत्तरी, १५ असार । ‘जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ महोत्तरीको गौशाला नगरपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजारले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ भव्य रूपमा मनाएको छ ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव प्रमुख अतिथिका रूपमा सहभागी हुँदै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिए ।
उनले परम्परागत खेती प्रणालीलाई समयअनुसार सुधार गर्दै उत्पादनमुखी कृषि अभ्यासमा किसानलाई प्रेरित गर्न आवश्यक रहेको बताए ।
‘धान उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता र किसानको आयस्तर उकास्न स्थानीय सरकार, कृषि निकाय र किसानबीच प्रभावकारी समन्वय आवश्यक छ,’ उनले भने ।
उनले युवालाई पनि कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक प्रविधि, यान्त्रीकरण र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र महोत्तरीका प्रतिनिधिले जलवायु परिवर्तनले धान उत्पादनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्दै कम पानीमा उत्पादन दिन सक्ने उन्नत जात, सन्तुलित मल व्यवस्थापन तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताए ।
किसानलाई समयमै प्राविधिक सेवा र गुणस्तरीय बीउ उपलब्ध गराउन सम्बन्धित निकाय प्रतिबद्ध रहेको उनले जानकारी दिए ।
गौशाला नगरपालिकाका प्रतिनिधिले कृषि नै स्थानीय अर्थतन्त्रको आधार भएकाले किसानमैत्री कार्यक्रम, सिँचाइ पूर्वाधार विकास, कृषि यान्त्रीकरण तथा उत्पादन वृद्धि गर्ने योजनालाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । धान उत्पादनमा आत्मनिर्भर बन्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन तथा आयोजक पक्षले विद्यालयस्तरबाट कृषि शिक्षा, वातावरण संरक्षण र श्रमको सम्मानको सन्देश प्रवाह गर्ने उद्देश्यले धान दिवस मनाइएको जनाएको छ ।
विद्यार्थीलाई कृषि पेशाप्रति सकारात्मक सोच विकास गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवसहित विभिन्न कृषि निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, किसान तथा स्थानीयवासीले संयुक्त रूपमा खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका थिए ।
वक्ताहरूले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दै आधुनिक प्रविधिमा आधारित खेती प्रणाली विस्तार गर्न सके धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्नुका साथै मुलुकको समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।




