जनकपुरधाम, ११ असार । महोत्तराको मटिहानी नगरपालिका–९ सिमरदहीमा आयोजित मुस्लिम समुदायको महान धार्मिक तथा सांस्कृतिक पर्व तजिया दाहा मेलाको उद्घाटन जनकपुर सुरक्षा अस्पतालका सञ्चालक डा. सरोज ठाकुरले गरेका छन् ।

मेलाको उद्घाटन गर्दै डा. ठाकुरले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, सहिष्णुता र एकताको भावना बलियो बनाउने बताए ।

उनले विविधता नै नेपालको विशेषता भएकाले सबै समुदायका चाडपर्वलाई सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा मेला व्यवस्थापन समितिका अध्यक्ष अब्दुल हफिज, पूर्व वडाअध्यक्ष आबिद हुसेन, वडा सदस्य मोलाजिम नदाफ, मोक्तार राइन तथा सैफली खानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार तजिया दाहा मेलाले धार्मिक आस्थासँगै सामाजिक एकता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।