विराटनगर, ११ असार । अङ्गीकृत नेपाली नागरिकता प्राप्तिका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा नं. ५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय वडा सदस्य गणेश ऋषिदेव रहेका छन् । उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार रंगेली–५ निवासी मनुवा कुमार महतोले अधनुनिया महतोलाई आफ्नी आमा भएको भनी नागरिकता प्रयोजनका लागि विवरण पेस गरेका थिए । उक्त विवरणको पर्याप्त परीक्षण नगरी वा झुटो तथ्यलाई आधार मानेर वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अङ्गीकृत नेपाली नागरिकताका लागि आवश्यक सर्जमिन तथा सिफारिस उपलब्ध गराएको आरोप छ ।

नागरिकता सिफारिस प्रक्रियामा अनियमितता भएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कागजातसहित उनीहरूलाई प्रहरीको जिम्मा लगाएको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका दुवै जनामाथि किर्ते तथा नागरिकता सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ । घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नागरिकता जस्तो संवेदनशील विषयमा झुटो विवरणका आधारमा सिफारिस भएको आरोप सार्वजनिक भएपछि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी र नागरिकता वितरण प्रक्रियाको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ ।

प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।