मिर्चैयामा रहस्यमय दुर्घटना, एकको मृत्यु

–श्याम कुमार ठाकुर
सिरहा, ११ असार । सिरहाको मिर्चैया नगरपालिका–८ भगवतपुरमा भएको सवारी दुर्घटनापछि घटनाले नयाँ मोड लिएको छ । स्थानीयवासीले दुर्घटनामा संलग्न व्यक्तिहरूले घटनापछि अर्को गाडी प्रयोग गरेर भाग्ने प्रयास गरेको दाबी गरेपछि घटनाप्रति थप चासो बढेको हो ।
स्थानीयका अनुसार घरको आँगनको गेटनजिक बसिरहेका गुनाई ठाकुरलाई बा.प्र.०१–०३२ च ८९७१ नम्बरको विद्युतीय (ईभी) गाडीले ठक्कर दिएको थियो । दुर्घटनापछि गाडीमा रहेका व्यक्तिहरू तत्काल घटनास्थलबाट फरार भएका थिए ।
प्रत्यक्षदर्शीहरूले दिएको जानकारीअनुसार केही समयपछि ती व्यक्तिहरू सेतो रङको अर्को गाडी लिएर घटनास्थल आसपास पुगेका थिए । दुर्घटनाको खबर फैलिएसँगै स्थानीयवासी ठूलो संख्यामा भेला भएपछि उनीहरू पुनः उक्त गाडी लिएर त्यहाँबाट निस्किएका थिए ।
घटनापछि गाउँमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । स्थानीयवासीले दुर्घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न र घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै प्रहरीसँग कडा कदम चाल्न आग्रह गरेका थिए ।
प्रहरीले घटनालगत्तै खोजी अभियान सञ्चालन गरी दुर्घटनामा प्रयोग भएको ईभी गाडी र त्यसपछि प्रयोग गरिएको भनिएको सेतो गाडी दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय स्रोतका अनुसार सेतो गाडी केही समयपछि एकान्त स्थानमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुनाई ठाकुरको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । यस्तै, रामपुकार ठाकुर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयवासीले दुर्घटनामा संलग्न सवारीसाधनबाट मदिरासमेत बरामद भएको दाबी गरेका छन् । यद्यपि, यस विषयमा प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन ।
घटनाको प्रकृति सामान्य सडक दुर्घटनाभन्दा फरक देखिएको भन्दै स्थानीयले निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन् । उनीहरूले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान भइरहेको जनाउँदै दुर्घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ । प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।

