काठमाडौं, ११ असार । आम जनता पार्टी (आजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनबाट पारित प्रदेशसभा खारेज सम्बन्धी प्रस्तावप्रति असहमति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

आजपाका प्रवक्ता तिलक थापामगरले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको संघीय व्यवस्था लामो राजनीतिक संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप स्थापित भएको उल्लेख गर्दै त्यसको औचित्यमाथि प्रश्न उठाउने कुनै पनि प्रयास उचित नहुने बताएका छन् ।

विज्ञप्तिमा संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्नुपर्ने भए पनि प्रदेशसभालाई नै खारेज गर्ने प्रस्तावले लोकतान्त्रिक अभ्यास र संघीय व्यवस्थाको मर्ममाथि प्रहार गर्ने उल्लेख गरिएको छ । आजपाले संघीय संरचनालाई थप प्रभावकारी र उत्तरदायी बनाउने दिशामा बहस हुनुपर्नेमा त्यसलाई समाप्त गर्ने निष्कर्षमा पुग्नु गलत भएको जनाएको छ ।

रास्वपाले निर्वाचनका क्रममा संघीय प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै आजपाले अहिलेको निर्णय जनतासँग गरिएको राजनीतिक वाचाविपरीत रहेको दाबी गरेको छ । चुनावताका एउटा एजेन्डा प्रस्तुत गरेर जनमत प्राप्त गर्ने र पछि त्यसको विपरीत निर्णय गर्नु जनादेशको अपमान भएको आजपाको भनाइ छ ।

आजपाले रास्वपाको पछिल्लो प्रस्तावले राष्ट्रिय राजनीतिमा अनावश्यक विवाद र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनीसमेत दिएको छ । पार्टीले लोकतान्त्रिक मूल्य, जनमतको सम्मान तथा संघीय व्यवस्थाको संवद्र्धनका लागि प्रदेशसभा खारेज सम्बन्धी निर्णय पुनरावलोकन गर्न रास्वपालाई आग्रह गरेको छ ।

विज्ञप्तिमा रास्वपाका पछिल्ला गतिविधि र निर्णयहरूले मुलुकलाई राजनीतिक निकास दिनेभन्दा पनि थप जटिलता सिर्जना गर्ने संकेत देखिएको टिप्पणी गरिएको छ । साथै, जनतासँग गरेका प्रतिबद्धताबाट पछि हट्ने कार्यले राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठाएको आजपाको निष्कर्ष छ ।

रास्वपाले हालै सम्पन्न महाधिवेशनबाट प्रदेशसभा खारेज गरी संघीय संरचनाको पुनर्संरचना गर्ने अवधारणा अघि सारेपछि त्यसबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।