श्रीमतीको हत्या गरी चार महिनादेखि फरार रहेका पति पक्राउ

रौतहट, ११ असार । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादव रहेका छन् । उनीमाथि आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको हत्या गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी आरती देवीको हत्या गरिएको थियो । घटनापछि फरार रहेका यादवको खोजी कार्य प्रहरीले निरन्तर रूपमा जारी राखेको थियो ।
प्रहरीले प्राविधिक विश्लेषण तथा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त टोलीमार्फत उनलाई फतुवा विजयपुर नगरपालिका–८ विजयपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका यादवमाथि हत्या सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।
घटनापछि लामो समयसम्म फरार रहेका अभियुक्त पक्राउ परेसँगै घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

