जनकपुरधाम, १० असार । मधेश प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासम्बन्धी थमन विक हत्या प्रकरणको मुद्दामा उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्थगित भएको छ ।

लामो समयदेखि सुनुवाइ प्रक्रियाले गति लिन नसकेको उक्त मुद्दा फेरि एकपटक स्थगित भएपछि न्यायिक प्रक्रियाको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको हो ।

उच्च अदालत जनकपुरको संयुक्त इजलासमा न्यायाधीशद्वय कैलाशप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदीसमक्ष बुधबार पेशी तोकिएको थियो । तर, निवेदकतर्फका कानुन व्यवसायीले पेशी स्थगनको निवेदन दिएपछि सुनुवाइ हुन नसकेको अदालत स्रोतले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको घटनामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । उक्त मुद्दामा प्रदीप साह, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर शाही (शंकर शाही) र सुरेश पाण्डेलाई पनि दोषी ठहर गरिएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध अभिराम शर्माका बुवा महेन्द्र शर्मा, अन्य अभियुक्तका परिवारजन तथा प्रतिनिधिहरूले २०८१ वैशाखमा उच्च अदालत जनकपुरमा पुनरावेदन दायर गरेका थिए । त्यसयता साढे दुई वर्षको अवधिमा पटक पटक पेशी तोकिए पनि मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन ।

उच्च अदालतको अभिलेखअनुसार हालसम्म यस मुद्दामा ४९ वटा पेशी तोकिएको छ । तीमध्ये २८ वटा पेशी विभिन्न कारणले स्थगित भएका छन् । ११ वटा पेशीमा अदालतबाट विभिन्न आदेश जारी भएका छन् भने ६ वटा पेशी ‘हेर्न नभ्याइने’ सूचीमा परेका थिए । दुई वटा पेशी ‘हेर्दाहेर्दै’मा परेका थिए भने दुई वटा पेशीमा बकपत्र सम्पन्न भएको थियो ।

हालैका पेशीहरू पनि निरन्तर प्रभावित हुँदै आएका छन् । असार ३ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने जेठ २७ गते अर्को पेशी तोक्ने आदेश भएको थियो । जेठ २० र १३ गतेका पेशीहरू ‘लगाउ’मा रहेका अन्य मुद्दाका कारण स्थगित भएका थिए । त्यस्तै, जेठ ६ गतेको पेशी पनि निवेदकतर्फका कानुन व्यवसायीको आग्रहमा स्थगित गरिएको थियो ।

अदालत स्रोतका अनुसार यो मुद्दा अन्य सम्बन्धित सात वटा मुद्दासँग ‘लगाउ’मा राखेर सुनुवाइ गरिने भएकाले पनि पटक पटक पेशी प्रभावित हुने गरेको छ । साथै पुनरावेदक, प्रत्यर्थी तथा निवेदकतर्फका कानुन व्यवसायीको अनुपस्थिति वा स्थगन निवेदनका कारण पनि सुनुवाइले निरन्तरता पाउन सकेको छैन ।

बहुचर्चित थमन विक हत्या प्रकरणमा लामो समयदेखि अन्तिम टुंगो लाग्न नसक्दा पीडित पक्ष, अभियुक्त पक्ष तथा सर्वसाधारणमा समेत चासो बढेको छ । न्यायिक प्रक्रियामा बारम्बारको स्थगनले मुद्दा छिनोफानोमा ढिलाइ हुनुका साथै न्याय सम्पादन प्रक्रियाप्रति प्रश्न उठ्न थालेको कानुन क्षेत्रका जानकारहरू बताउँछन् ।