महोत्तरी, १० असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ महोत्तरीको समन्वयमा ‘भाषिक पत्रकारिता एवं सञ्चार माध्यम प्रवर्द्धन सम्बन्धी’ दुईदिने आवासीय कार्यशाला बुधबारदेखि महोत्तरीमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले भाषिक पत्रकारिता स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणको महत्वपूर्ण माध्यम भएको बताइन् । उनले नेपालमा अध्ययन, रोजगारी र पर्यटनका प्रशस्त सम्भावना रहेकाले पत्रकारहरूले आफ्नो कलममार्फत यस्ता सकारात्मक पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री थापाले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारहरूको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने धारणा राखिन् । ‘पत्रकार समाजका बिनावर्दीका प्रहरी हुन् । उनीहरूले सत्य तथ्य बाहिर ल्याउने काम गर्छन् । त्यसैले उनीहरूको पेशागत सुरक्षा सुनिश्चित हुनुपर्छ,’ उनले भनिन् ।

उनले विकास निर्माणका योजनामा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याउँदै सार्वजनिक स्रोत र बजेटको प्रभावकारी उपयोगबारे सञ्चारमाध्यमले निगरानी बढाउनुपर्ने बताइन् ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झाले भाषिक पत्रकारिता समाचार सम्प्रेषणको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको विषय भएको बताइन् । उनले पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिता पालनासँगै स्थानीय भाषाका सञ्चारमाध्यमलाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका अध्यक्ष किशोर लेखीले भाषा, साहित्य, कला र सञ्चार एकअर्काका परिपूरक क्षेत्र भएको उल्लेख गर्दै स्थानीय भाषाको सामग्री उत्पादन वृद्धि गर्न राज्य, सञ्चार संस्था र पत्रकारबीच सहकार्य आवश्यक रहेको बताए । भाषिक पत्रकारिताले स्थानीय समुदायका आवाजलाई राष्ट्रिय बहसमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश दासले पत्रकारिताको गुणस्तर अभिवृद्धि र पेशागत क्षमता विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । उनले नयाँ पत्रकार उत्पादन गर्नु मात्र नभई लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकारहरूको सीप, ज्ञान र व्यवसायिक आचरणमा समेत सुधार आवश्यक रहेको धारणा राखे ।

सामाजिक सञ्जालको बढ्दो प्रभावबारे चर्चा गर्दै अध्यक्ष दासले फेसबुक सूचना आदानप्रदानको माध्यम भए पनि त्यसलाई पत्रकारिताको विकल्पका रूपमा लिन नहुने बताए । ‘सामाजिक सञ्जालमा गरिएको प्रत्येक पोस्ट समाचार हुँदैन । पत्रकारिताको आफ्नै प्रक्रिया, मापदण्ड र जिम्मेवारी हुन्छ,’ उनले भने ।

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे बोल्दै उनले एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सकिने भए पनि त्यसमा अत्यधिक निर्भर हुँदा पत्रकारको मौलिकता, सिर्जनशीलता र लेखन क्षमता कमजोर हुने जोखिम रहेको बताए । ‘आफ्नो भाषा, शैली र पहिचानसहितको सामग्री नै पत्रकारिताको वास्तविक शक्ति हो,’ उनले जोड दिए ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पदाधिकारीहरूले भाषिक पत्रकारिताको दिगो विकास, सञ्चारमाध्यमको क्षमता अभिवृद्धि तथा पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा भाषिक पत्रकारिताको वर्तमान अवस्था, डिजिटल सञ्चारको प्रभाव, स्थानीय भाषाका सञ्चारमाध्यमको दिगोपना, पत्रकारितामा प्रविधिको प्रयोग, कृत्रिम बुद्धिमत्ता तथा सञ्चार क्षेत्रका नीतिगत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।