श्रमिकको सम्मानमा महोत्तरी गाउँपालिका अगाडि

जनकपुरधाम, १८ बैशाख । १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा महोत्तरी गाउँपालिकामा श्रमिकहरूको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिकहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिलिप कुमार पाण्डेयले श्रमिक वर्ग देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको हक, अधिकार र सम्मान सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले श्रमिकहरूको जीवनस्तर सुधारका लागि विभिन्न योजना अघि बढाइएको पनि जानकारी दिए ।
स्थानीय तहमा श्रमिकहरूको सम्मान र उनीहरूको समस्याप्रति संवेदनशीलता देखाउँदै कार्यक्रम आयोजना गर्नु अध्यक्ष पाण्डेयको सकारात्मक र उदाहरणीय कदमका रूपमा सराहना गरिएको छ ।
कार्यक्रममा सहभागी श्रमिकहरूले पनि गाउँपालिकाको यस पहलप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने बताए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले श्रमिकहरूको मनोबल बढाउनुका साथै समाजमा उनीहरूको भूमिकालाई थप उजागर गरेको सहभागीहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


