जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले बजारमा खसीको नाममा बोकाको मासु बिक्री भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय उपभोक्ताबाट यस्ता गुनासाहरू बढ्दै गएपछि उपमहानगरपालिकाले मासु व्यवसायीहरूलाई सचेत गराउँदै कडाइ गर्ने चेतावनी दिएको हो ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसल तथा विक्रेताहरूलाई भ्रामक तरिकाले मासु बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

‘खसीको मासु भन्दै बोकाको मासु बिक्री गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्नेछ, अन्यथा कानुन बमोजिम कारबाही गरिनेछ,’ सूचनामा उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाअन्तर्गत कृषि तथा पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा. अमर कुमार साहद्वारा जारी सूचनामा बजार अनुगमनलाई थप प्रभावकारी बनाइने पनि जनाइएको छ ।

उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिने तयारी गरिएको जनाइएको छ ।

यसैबीच, उद्योग वाणिज्य संघ, सूचना प्रविधि शाखा तथा नगर प्रहरी इकाईलाईसमेत उक्त सूचनाबारे जानकारी गराइएको छ ।

उपमहानगरपालिकाले सबै सरोकारवालासँग सहकार्य गर्दै बजारमा पारदर्शिता कायम गर्ने लक्ष्य लिएको जनाएको छ ।