जनकपुरधाम, १६ बैशाख । धनुषामा आयोजित यू–१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत राष्ट्रिय विद्यालय स्तरीय च्याम्पियनसिपको उपाधि एरे इन्टरनेशनल स्कूलले जितेको छ ।

फाइनल खेलमा सिद्धार्थ शिशु सदनलाई ४ विकेटले पराजित गर्दै एरे इन्टरनेशनल स्कूल विजेता बनेको हो ।

फाइनलमा पहिले ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । सामान्य लक्ष्य पछ्याएको एरे इन्टरनेशनल स्कूलले १६.१ ओभरमै ६ विकेट गुमाएर १०१ रन बनाउँदै सहज जित हासिल गर्‍यो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको एरे इन्टरनेशनल स्कूलले फाइनलमा पनि संयमित खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भयो ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी सबै विद्यालय, खेलाडी, अम्पायर, ग्राउण्ड स्टाफ तथा सहयोगी हातहरूको महत्वपूर्ण योगदान रहेको थियो । उनीहरूको सहभागिताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।