जनकपुरधाममा निजी विद्यालयमाथि निगरानी कडा, अनुगमन अभियान सुरु

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूको मनपरी नियन्त्रण गर्न र शैक्षिक क्षेत्रमा अनुशासन कायम गर्न व्यापक अनुगमन अभियान सुरु गरेको छ ।
शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित गठन गरिएको अनुगमन समितिले बुधबारदेखि औपचारिक रूपमा विद्यालयहरूको स्थलगत निरीक्षण थालेको हो ।
अभियानअन्तर्गत पहिलो दिन जनकपुरधाम–१३ मा रहेका विभिन्न निजी विद्यालयहरूको अनुगमन गरिएको छ ।
सो क्रममा गार्गी मेमोरियल इङ्गलिस बोर्डिङ स्कूलसहित अन्य विद्यालयहरूमा पुगेर समितिले शुल्क संरचना, पाठ्यपुस्तक वितरण, प्रशासनिक प्रक्रिया तथा दर्ता अवस्थाको विस्तृत अध्ययन गरेको जनाएको छ ।
अनुगमन टोलीमा समितिका सदस्यहरू दिपक कुमार ठाकुर, विमलेश मिश्र, सन्जिव ठाकुर तथा वडा नं. १३ का अध्यक्ष जित बहादुर राउत लगायतको सहभागिता रहेको थियो ।
टोलीले विद्यालय प्रशासनसँग आवश्यक कागजात माग गर्नुका साथै विद्यार्थी र अभिभावकसँगसमेत अन्तरक्रिया गरेको थियो ।
अनुगमनका क्रममा विशेषगरी विद्यालयहरूले तोकिएको मापदण्डअनुसार शुल्क लिइरहेका छन् वा छैनन्, अनधिकृत रूपमा अतिरिक्त शुल्क असुली भइरहेको छ कि छैन, पाठ्यपुस्तकहरू निर्धारित मापदण्डअनुसार उपलब्ध गराइएको छ कि छैन भन्ने विषयमा केन्द्रित भएर जाँचबुझ गरिएको बताइएको छ ।
अनुगमन समितिका सदस्य दिपक कुमार ठाकुरले नियमविपरीत गतिविधि भेटिए कडा कारबाही गरिने स्पष्ट पारे । उनका अनुसार पहिलो चरणमा विद्यालयहरूलाई सुधारका लागि निर्देशन दिइनेछ । तर, अटेर गरेमा कानुनी प्रक्रिया अघि बढाइनेछ ।
‘यदि कुनै विद्यालयले निरन्तर नियम उल्लंघन गरेको पाइएमा त्यस्ता विद्यालय बन्द गर्नेसम्मको निर्णय लिन बाध्य हुन सक्छौं,’ उनले चेतावनी दिए ।
उपमहानगरपालिकाले विगत केही समयदेखि निजी विद्यालयहरूले मनपरी शुल्क लिने, अभिभावकलाई अनावश्यक आर्थिक भार थप्ने तथा शैक्षिक मापदण्ड बेवास्ता गर्ने गुनासो बढ्दै गएको पृष्ठभूमिमा यो अभियान अघि बढाएको जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार अनुगमन अभियान एकदिने नभई निरन्तर चल्नेछ । आगामी दिनहरूमा जनकपुरधामका सबै वडामा रहेका निजी विद्यालयहरूलाई क्रमशः अनुगमनको दायरामा ल्याइनेछ ।
साथै, अनुगमनका निष्कर्ष सार्वजनिक गरिने र आवश्यक सुधारका लागि समयसीमा तोकिने योजना पनि रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


