जनकपुरधाम, १५ बैशाख । जनकपुरधामस्थित जानकी मन्दिर परिसरभित्र जथाभावी सवारीसाधन पार्किङ गरिएको विषयमा धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाको सक्रियतापछि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ ।

सांसद झाको आग्रहमा मन्दिर परिसरभित्र पार्किङ गरेर राखिएका सवारीसाधनहरूमा आजै लक लगाइएको हो ।

‘जानकी मन्दिर पार्किङ स्थल नभई यो हाम्रो आस्था र पहिचानको केन्द्र हो,’ सांसद झाले भने, ‘आज ट्राफिकलाई आग्रह गरेर लक लगाउने काम गराइएको छ, ताकि अबदेखि यस्तो हेलचेक्राइ नहोस् ।’

उनले मन्दिर परिसरभित्र सवारी राख्ने प्रवृत्ति बढ्दै जाँदा सम्पदाको गरिमा नै खस्किने खतरा रहेको उल्लेख गरे । ‘अनुशासन कायम नगरी संरक्षण सम्भव हुँदैन । नियम उल्लंघन गर्नेलाई कडाइ आवश्यक छ,’ उनले थपे ।

सांसद झाले विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भइरहेको अवस्थामा न्यूनतम व्यवस्थापन र अनुशासन अत्यावश्यक रहेको बताए । ‘हामी विश्व सम्पदाको रूपमा स्थापित गराउने दिशामा अघि बढिरहेका छौँ । तर, आफैंले संरक्षण गर्न सकेनौँ भने त्यो प्रयास कमजोर हुन्छ,’ उनले भने ।

स्थानीयका अनुसार मन्दिर परिसरमा बढ्दो सवारी चापले दर्शनार्थीलाई असहज बनाउँदै आएको छ । विशेषगरी भीडभाड हुने दिनमा अव्यवस्थित पार्किङले आवागमनमासमेत समस्या सिर्जना गर्ने गरेको छ ।

ट्राफिक प्रहरीले अब मन्दिर क्षेत्रलाई ‘नो पार्किङ जोन’ का रूपमा कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । साथै वैकल्पिक पार्किङ व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

सांसद झाले जनकपुरधामका सम्पदा र धार्मिक स्थलहरूको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गरेका छन् ।

‘यो प्रशासनको मात्र नभई हाम्रो साझा जिम्मेवारी हो,’ उनले भने ।