आर्थिक अनुसन्धानका नाममा गिरफ्तारी बन्द गर्न उद्योग वाणिज्य संघको माग

जनकपुरधाम, ११ बैशाख । जनकपुरधाम उद्योग वाणिज्य संघले पछिल्लो समय आर्थिक अनुसन्धानका नाममा देशका प्रतिष्ठित उद्योगी–व्यवसायीहरूलाई अनावश्यक रूपमा हिरासतमा राख्ने तथा मनोबल कमजोर बनाउने गतिविधि तत्काल बन्द गर्न माग गरेको छ ।
संघले हालै पूर्ण बहुमतसहित नयाँ सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने विश्वास गरिएको अवस्थामा पछिल्ला केही दिनदेखि भएका गिरफ्तारी र अनुसन्धान प्रक्रियाप्रति आपत्ति जनाएको हो ।
संघद्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो कार्यले निजी क्षेत्रमाथि दबाब सिर्जना गर्नुका साथै समग्र अर्थतन्त्रप्रतिको विश्वास कमजोर बनाउने उल्लेख गरिएको छ ।
कुनै पनि आरोप वा शंकाको विषयमा निष्पक्ष छानबिन, प्रमाण संकलन र कानुनी सुनुवाइजस्ता विधिसम्मत प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।
‘कानून सबैका लागि समान हुनुपर्छ । तर, प्रक्रियागत निष्पक्षता र पारदर्शिता अनिवार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दोष प्रमाणित हुनुअघि नै उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने वा हिरासतमा राख्ने प्रवृत्तिले लगानीको वातावरण थप कमजोर बनाउँछ ।’
संघले अहिले मुलुक आर्थिक सुस्तता, घट्दो उत्पादन, बेरोजगारी वृद्धि, लगानी अभाव र युवाशक्ति पलायनजस्ता चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा निजी क्षेत्रलाई साथ र सहकार्यमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।
त्यस्तै, शंकाकै भरमा थुन्ने र पछि सुनुवाइ गर्ने प्रवृत्ति अन्त्य नगरे सरकारको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल गर्न कठिन हुने चेतावनी पनि संघले दिएको छ ।
संघले प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको अविलम्ब रिहाइको माग गर्दै कानुनी राज्यको मर्मअनुसार निष्पक्ष र पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


