१७ जना अपांगता भएका व्यक्तिलाई निःशुल्क व्हीलचेयर वितरण

महोत्तरी, ११ बैशाख । महोत्तरी जिल्लाका दुई स्थानीय तहका दर्जनौँ अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क रूपमा व्हीलचेयर वितरण गरिएको छ ।
नेपाल–भारत महिला मैत्री समाजको आयोजनामा शुक्रबार महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा १७ जना अपांगता भएका व्यक्तिहरूलाई व्हीलचेयर प्रदान गरिएको हो ।
समाजकी अध्यक्ष तथा पूर्वमन्त्री चन्दा चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै समाजले आवश्यकता अनुसार विभिन्न समयमा सामाजिक सेवाका कार्य गर्दै आएको बताइन् ।
उनले भूकम्प, कोभिड–१९ महामारी लगायतका कठिन समयमा पनि आफूहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको उल्लेख गरिन् ।
कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ महोत्तरीको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रममा सोनमा गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष राम प्रमोद सहनी, सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक शेर बहादुर अधिकारी, सीमा सुरक्षा गुल्म रघुनाथपुरका गुल्मपति प्रहरी नायब उपरीक्षक गणेश पाण्डे, राष्ट्रिय अपांग संघका प्रतिनिधि तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले अपांगता भएका व्यक्तिहरूको सहज जीवनयापनका लागि गरिएको यस प्रकारको सहयोग महत्वपूर्ण रहेको भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरे ।




















तस्बिरहरू: घनश्याम मिश्र
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


