सिरहा नगरपालिकामा कर्मचारी–जनप्रतिनिधि विवाद चर्कियो, सेवा प्रवाह प्रभावित

सिरहा, ११ बैशाख । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ ।
पछिल्लो समय देखिएको आन्तरिक तनावले प्रशासनिक कामकाज नै असहज बनेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार कर्मचारी र केही जनप्रतिनिधिबीचको विवादले कार्यालयको वातावरण दिनानुदिन जटिल बन्दै गएको छ ।
गत चैत २३ गते मेयरबाट कर्मचारीमाथि कुटपिट भएको घटनापछि अवस्था थप तनावग्रस्त बनेको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सोनुद्वारा जारी सूचनामा केही जनप्रतिनिधि तथा उनीहरूसम्बद्ध समूहले कार्यालयभित्र अनावश्यक हस्तक्षेप गर्दै कर्मचारीमाथि दबाब, धम्की र दुर्व्यवहार गर्ने प्रयास गरेको उल्लेख छ ।
यस्तै, वैशाख १० गते कर्मचारी बैठककै क्रममा कार्यालय प्रमुखसहित अन्य कर्मचारीमाथि दुर्व्यवहार भएको घटनाले कर्मचारीहरू सुरक्षित वातावरणमा काम गर्न नसक्ने अवस्था सिर्जना भएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले हालको परिस्थितिमा कार्यसम्पादन गर्न कठिनाइ भइरहेको जनाउँदै सरोकारवाला निकायहरूसँग आवश्यक सहजीकरण र सहयोगको माग गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत केही समयका लागि कार्यालयमा अनुपस्थित रहने जानकारी दिँदै सेवा प्रवाहलाई वैकल्पिक माध्यमबाट निरन्तरता दिने प्रयास भइरहेको पनि सूचनामा उल्लेख छ ।
यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिरहालगायत सम्बन्धित निकायलाई बोधार्थ पठाइएको नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


