महोत्तरी, ११ बैशाख । महोत्तरी जिल्लामा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी र तातो हावा (लू) को प्रभाव बढ्दै गएपछि जनजीवन प्रभावित बन्न थालेको छ ।

तापक्रममा निरन्तर वृद्धि भएसँगै जिल्लाका जलेश्वर, बर्दिबास, गौशाला, औरही लगायतका क्षेत्रहरूमा गर्मीको असर तीव्र रूपमा देखिन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार एक सार्वजनिक अपील जारी गर्दै आगामी केही दिनसम्म गर्मीको लहर जारी रहने सम्भावना रहेको जनाएको छ ।

तराईको भौगोलिक अवस्थाका कारण यहाँ गर्मीको प्रभाव बढी हुने भएकाले विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनका अनुसार विशेष गरी किसान, मजदुर, बालबालिका र वृद्धवृद्धाहरू उच्च जोखिममा पर्ने भएकाले दिउँसोको समयमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सुझाव दिइएको छ ।

बाहिर निस्कनै परे छाता, टोपी वा गम्छाले टाउको ढाक्न र प्रशस्त पानी पिउन आग्रह गरिएको छ ।

त्यस्तै, बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन अभिभावकलाई सचेत गराइएको छ ।

विद्यालय जाने बालबालिकालाई झोलिलो पदार्थ खुवाउने र घामबाट जोगाउने उपाय अपनाउन भनिएको छ ।

जिल्लाका स्वास्थ्य संस्थाहरूलाई पनि गर्मीजन्य रोगका बिरामीहरूको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

गर्मीका कारण खानेपानीको अभाव हुन सक्ने भन्दै स्थानीय तहहरूलाई सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

यसैबीच, अत्यधिक गर्मीका कारण आगलागीका घटना बढ्न सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले चेतावनी दिएको छ ।

कुनै पनि आपतकालीन अवस्था आएमा तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलद्वारा जारी उक्त अपीलमा सबै नागरिकलाई संयम र सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ ।