जनकपुरधाम, ९ बैशाख । माता सीताको जन्मोत्सवका रूपमा मनाइने जानकी नवमी यस वर्ष बैशाख १२ गते शनिबार जनकपुरधाममा विशेष भव्यताका साथ मनाइने भएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस पर्वका अवसरमा दिनभर विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ ।

जानकी मन्दिरका अनुसार कार्यक्रम बिहान सबेरैदेखि सुरु हुनेछ ।बिहान ५:३० बजे जानकी मन्दिरबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिनेछ । उक्त शोभायात्रा नगर परिक्रमा गर्दै दूधमती नदीसम्म पुग्नेछ । त्यहाँ श्रद्धालुहरूद्वारा शाही स्नान गरिने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि, मध्याह्न १२ बजे मन्दिर परिसरमा मंगल बधाई गान प्रस्तुत गरिनेछ । दिउँसो ४ बजे पुनः नगर क्षेत्रमा शोभायात्रा निकालिनेछ । शोभायात्रामा विभिन्न झाँकी, भजन–कीर्तन र परम्परागत बाजागाजाको विशेष आकर्षण रहनेछ ।

साँझपख कार्यक्रम झनै आकर्षक हुने जनाइएको छ । साँझ ७ बजे जानकी मन्दिरको प्राङ्गणमा भव्य महाआरती आयोजना गरिनेछ । यसै अवसरमा जानकी सेनाद्वारा दीप प्रज्ज्वलन कार्यक्रम पनि गरिनेछ ।

त्यसपछि साँझ ७:३० बजे पुनः मंगल बधाई गान हुने र यो कार्यक्रम छठि महोत्सवसम्म निरन्तर सञ्चालन हुने जानकारी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

महन्थ दासले यस महत्वपूर्ण धार्मिक उत्सवमा सहभागी भई पर्वलाई सफल बनाउन सम्पूर्ण जनकपुरधामवासी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन् ।

उनले जानकी नवमीले धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र आस्थाको सन्देश प्रवाह गर्ने उल्लेख गर्दै उत्सवलाई मर्यादित र सभ्य ढंगले मनाउन सबैसँग अपिल गरेका छन् ।

जनकपुरधाममा हरेक वर्ष मनाइने जानकी नवमीले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

यस वर्ष पनि देश तथा विदेशबाट ठूलो संख्यामा श्रद्धालुहरू आउने विश्वास गरिएको छ ।