जनकपुरधाम, ९ बैशाख । राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवका रूपमा मनाइने जानकी नवमीमा सार्वजनिक बिदा घोषणा गर्न माग गर्दै जनकपुरधाममा दबाब बढ्दै गएको छ ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस पर्वलाई राज्यले बेवास्ता गरेको भन्दै स्थानीयवासी, साधुसन्त तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग तत्काल निर्णय लिन आग्रह गरेका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिँदै प्रत्येक वर्ष सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग गरे ।

उनले भने,’माता सीता सम्पूर्ण नेपालीको आस्था र पहिचानसँग जोडिएको महान् विभूति हुनुहुन्छ । उहाँको जन्मोत्सवमा सार्वजनिक बिदा नदिनु राज्यको कमजोरी हो । यसलाई तत्काल सच्याइनुपर्छ ।’

महन्थ दासका अनुसार जानकी नवमीका अवसरमा जनकपुरधाममा देश विदेशबाट हजारौं श्रद्धालु आउने गर्दछन् । यस्तो अवस्थामा बिदा नहुँदा भक्तजनहरूलाई धार्मिक क्रियाकलापमा सहभागी हुन कठिनाइ हुने गरेको उनको भनाइ छ ।

‘धार्मिक पर्यटन प्रवर्द्धन गर्न पनि सरकारले यस पर्वलाई प्राथमिकता दिन जरुरी छ,’ उनले भने ।

स्थानीयवासीहरूले पनि लामो समयदेखि जानकी नवमीमा बिदा दिनुपर्ने माग उठाउँदै आएका छन् । उनीहरूका अनुसार दशैं, तिहार, ईद, क्रिसमसजस्ता पर्वहरूमा बिदा दिने सरकार जानकी नवमीमा मौन रहनु विभेदपूर्ण देखिएको छ ।

मिथिला संस्कृतिमा विशेष महत्व राख्ने यस पर्वमा पूजा आराधना, झाँकी, शोभायात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन् । तर, सार्वजनिक बिदा नभएकै कारण धेरै मानिस पूर्ण रूपमा सहभागी हुन नसकेको गुनासो गरिएको छ ।

यसैबीच, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा सरकारसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरूले जानकी नवमीलाई राष्ट्रिय स्तरको पर्व घोषणा गर्दै स्थायी रूपमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् ।

सरकारले हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक नगरे पनि जनस्तरबाट बढ्दै गएको दबाबका कारण आगामी दिनमा यस विषयमा सकारात्मक निर्णय हुनुपर्ने विश्वास गरिएको छ ।