खैरो हेरोइनसहित युवक पक्राउ
जनकपुरधाम, ०३ मंसिर । सिरहाको गोलबजारबाट प्रहरीले ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ गरिएको सवारी चेकजाँचका क्रममा यादव पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ६९६६ नम्बरको टीभीएस मोटरसाइकल रोकेर जाँच गरेको थियो ।
सोही क्रममा यादवको साथबाट ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन् ।
प्रहरीले यादवको साथबाट एउटा भिभो कम्पनीको मोबाइलसमेत बरामद गरेको छ ।
लागुऔषध, मोटरसाइकल र मोबाइलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




