जनकपुरधाम, ०३ मंसिर । विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्वको विकास र नीतिगत सुधारका विषयमा राष्ट्रिय बहस सञ्चालन गर्ने उद्देश्यले प्रधानाध्यापक संघ नेपाल (प्यान) को तेस्रो राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुन लागेको छ ।

संघको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म तीनदिने सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, जनप्रतिनिधि तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रधानाध्यापक संघ मधेश प्रदेशका अध्यक्ष सञ्जयकुमार झाले सम्मेलनले नेपालको विद्यालय शिक्षा सुधारका लागि साझा धारणा निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनका अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रधानाध्यापकको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र नवीन शिक्षण विधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।

उनले भने, ‘विद्यालय सुधारको मुख्य आधार प्रभावकारी नेतृत्व हो । प्रधानाध्यापकलाई प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने व्यक्तिका रूपमा मात्र नभई विद्यालयको समग्र शैक्षिक परिवर्तनको नेतृत्वकर्ताका रूपमा विकास गर्न आवश्यक छ । यस सम्मेलनले विद्यालय शिक्षामा देखिएका समस्या पहिचान गर्दै समाधानका लागि राष्ट्रियस्तरमा साझा प्रतिबद्धता निर्माण गर्नेछ ।’

सम्मेलनको उद्घाटन मंसिर ४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा हुने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा विभिन्न प्रदेशबाट आएका प्रधानाध्यापक, शिक्षा क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनअन्तर्गत मंसिर ५ गते विद्यालय शिक्षा सुधारका लागि नीतिगत सुधार र नेतृत्व विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसँगको राष्ट्रिय संसदीय छलफलमा विद्यालय शिक्षाको वर्तमान अवस्था, नीतिगत चुनौती र सुधारका सम्भावनाबारे बहस गरिने कार्यक्रम छ ।

त्यसैगरी विद्यालय सुरक्षा, जलवायु अनुकूल विद्यालय निर्माण, अंग्रेजी भाषा शिक्षण, आधारभूत गणितीय सीपको विकास, शिक्षकबीच आपसी विश्वास र सहकार्य, विद्यार्थीको सक्रिय सहभागिता तथा शिक्षणमा कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगलगायत आठ विषयगत क्षेत्रमा समानान्तर छलफल सञ्चालन गरिनेछ ।

कार्यक्रममा नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका विज्ञ तथा प्रतिनिधिहरूले अनुभव र अभ्यास प्रस्तुत गर्नेछन् । सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य तथा अनुभव आदानप्रदानका लागि छुट्टै छलफलसमेत राखिएको छ ।

सम्मेलनको अन्तिम दिन मंसिर ६ गते जनकपुर घोषणापत्र जारी गरिने कार्यक्रम छ । घोषणापत्रमार्फत देशभरका विद्यालयको शैक्षिक गुणस्तर सुधार, नीतिगत सिफारिस, प्रधानाध्यापकको नेतृत्व विकास र विद्यालय शिक्षाको प्रभावकारिता अभिवृद्धिका लागि साझा प्रतिबद्धता तथा भावी कार्ययोजना सार्वजनिक गरिनेछ ।

सम्मेलनमा विभिन्न प्रदेशका उत्कृष्ट अभ्यास गरिरहेका सामुदायिक विद्यालय तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने स्थानीय तहका जनप्रतिनिधि र सञ्चार क्षेत्रका प्रतिनिधिलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रधानाध्यापक संघले सम्मेलनलाई विद्यालय शिक्षामा देखिएका चुनौतीमाथि सामूहिक छलफल गर्ने, सफल अभ्यासको आदानप्रदान गर्ने र शिक्षाको गुणस्तर सुधारका लागि राष्ट्रियस्तरमा साझा कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको सम्मेलनले जनकपुरधामलाई राष्ट्रिय शैक्षिक विमर्शको केन्द्रका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।