जनकपुरधाम, ०३ मंसिर । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामको सौन्दर्यीकरण तथा व्यवस्थित विकासका लागि बजेटको अभाव हुन नदिने बताएका छन् ।

जनकपुरधामको समग्र विकास, सडक तथा सार्वजनिक संरचनाको सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढाइरहेको उल्लेख गर्दै उनले विकास निर्माणका लागि बजेटमा कुनै कन्जुस्याइँ नगरिएको बताए ।

मन्त्री लम्सालका अनुसार जनकपुरधामलाई आकर्षक, व्यवस्थित र पर्यटकीय दृष्टिले सुन्दर शहरका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न योजना अघि सारिएका छन् । चालु आर्थिक वर्षको बजेटमा समेत यसका लागि आवश्यक व्यवस्था गरिएको र योजनाहरूको कार्यान्वयन प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

उनले भने, ‘जनकपुरधामको विकास र सौन्दर्यीकरण हाम्रो प्राथमिकतामा छ । यसका लागि बजेटमा कुनै कन्जुस्याइँ गरिएको छैन । योजनाबद्ध रूपमा काम अघि बढाएर आगामी वैशाखसम्म नागरिकले देख्न र अनुभूति गर्न सक्ने गरी परिणाम ल्याउने हाम्रो प्रयास छ ।’

उनले जनकपुरधामको विकासलाई सामान्य पूर्वाधार निर्माणमा मात्र सीमित नराखी दीर्घकालीन योजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए । प्रारम्भिक चरणमा आवश्यक पूर्वाधार तथा शहरको व्यवस्थापनमा काम गरिने र त्यसपछि थप अन्तर्राष्ट्रिय लगानी भित्र्याउने सम्भावनालाई समेत अघि बढाइने उनले बताए ।

मन्त्री लम्सालले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न विवाहपञ्चमीजस्ता महत्वपूर्ण पर्वको प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे ।

उनले जनकपुरधामलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न यहाँको पूर्वाधार, सौन्दर्यीकरण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

सरकारले जनकपुरधामको विकासलाई प्राथमिकतामा राखेर अघि बढाएको उल्लेख गर्दै मन्त्री लम्सालले योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत शहरको स्वरूप परिवर्तन गर्ने लक्ष्य रहेको बताए ।