विकास निर्माणका कामलाई तीव्रता दिन मन्त्री लम्सालको निर्देशन
जनकपुरधाम, ०३ मंसिर । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषा जिल्लामा सञ्चालित तथा प्रस्तावित विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री लम्सालले बिहीबार धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत ढल्केबरको पोखरियास्थित इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल, अन्दुपट्टी–कटरैत पुललगायतका क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणका योजनाहरूको वर्तमान अवस्था, निर्माणको प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए ।
उनले विकास निर्माणका काममा हुने ढिलासुस्ती अन्त्य गर्दै निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
मन्त्री लम्सालले भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासका योजनाहरू अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘विकास निर्माणका योजना कागजमा मात्र सीमित हुनुहुँदैन । त्यसको प्रतिफल स्थानीय नागरिकले अनुभूति गर्न पाउनुपर्छ । निर्माणको गुणस्तर र समयसीमामा कुनै सम्झौता हुनुहुँदैन ।’

उनले स्थानीय तहका आवश्यकता र जनताको मागलाई प्राथमिकतामा राखेर योजनाहरूको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अधुरा तथा अलपत्र आयोजनालाई विशेष प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिए ।
यसैगरी मन्त्री लम्सालले जनकपुरधामस्थित मणिमण्डपको समेत अवलोकन गरे । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको मणिमण्डपको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका सम्भावनाबारे उनले चासो व्यक्त गरे ।
मणिमण्डपलाई सरकारले चाँडै वैवाहिक गन्तव्य स्थलको रुपमा विकास गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
त्यस्तै, जनकपुरधामस्थित रामजानकी स्टेडियमको पनि निरीक्षण गर्दै खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए ।
खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले स्टेडियमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




