जनकपुरधाम, ०३ मंसिर । जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महामहोत्सवको तयारी औपचारिक रूपमा सुरु गरिएको छ ।

साताव्यापी रूपमा मनाइने महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो ।

जानकी मन्दिरमा बिहीबार आयोजित सर्वपक्षीय बैठकले आगामी मंसिर २३ गतेदेखि सुरु हुने विवाहपञ्चमी महामहोत्सवको तयारी तथा व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा बसेको बैठकले महोत्सवलाई व्यवस्थित बनाउन शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा गेट व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक व्यवस्थापन, खानेपानी र विद्युत् आपूर्तिलगायतका विषयमा छुट्टाछुट्टै समिति तथा उपसमिति गठन गरेको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाहपञ्चमी महोत्सवलाई विगतका वर्षभन्दा अझ भव्य र व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसँग छलफल गरी तयारी अघि बढाइएको जानकारी दिए ।

उनले महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी कार्यालयहरूको सहयोग आवश्यक रहेको बताए ।

त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह भएको स्मरणमा मनाइने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतका अयोध्यासहित विभिन्न स्थानबाट ठूलो संख्यामा साधुसन्त, श्रद्धालु र दर्शनार्थी जनकपुरधाम आउने गर्छन् ।

यसलाई मध्यनजर गर्दै बैठकमा सहभागी सरोकारवालाहरूले महोत्सवमा आउने श्रद्धालु तथा दर्शनार्थीको स्वागत, सत्कार, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा धार्मिक संघसंस्था, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले विवाहपञ्चमी धार्मिक उत्सव मात्र नभई मिथिलाको कला, संस्कृति, परम्परा र नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने महत्वपूर्ण पर्व भएकाले यसको सफल आयोजनामा सबै पक्षको साझा जिम्मेवारी रहने धारणा राखेका थिए ।

मिथिलाको सांस्कृतिक पहिचानसँग जोडिएको विवाहपञ्चमी महोत्सवलाई सफल बनाउन जानकी मन्दिरले शुरुवाती चरणदेखि नै सरोकारवाला निकायसँग समन्वय र सहकार्यलाई तीव्रता दिएको छ ।